18 March 2023

कोठा खालि भयो...




कोठा खालि छ, बिछौना रित्तो । छन् त मुवा सित गाँसिएका सम्झनाका लहरहरू मनभित्र खचाखच । सँधै बिहान अरु बेला जस्तै हिजोआज ढोका खोलेर मुवाको कोठामा पस्दा, र त्यो शुन्यता महसुस गर्दा, पीडा भन्दा पनि मनमा एक किसिमको शान्त अनुभव गर्छु । पाँच दशकदेखि मुवासित सँगालिएको अनुभवले, र शायद वहाँको लामो जीवनमा खेप्नु परेको बिभिन्न दु:ख अब सदाका लागि अन्त्य भयो भन्ने सोचले होला मेरो मनमा यस्तो भावना आएको
।


सुरुसुरुका कुरा

मुवा, चन्द्र कुमारी जोशी, मेरो बडा सासू हुनुहुन्थ्यो, मेरो सासूको पनि सासू । वहाँ १०७ वर्षको उमेरमा यही शिवरात्रीमा यो लोकबाट बिदा हुनु भयो । म यो परिवारमा वहाँको नातिनीबुहारी भएर छिर्दा मुवाको उमेर केवल ५८ थियो !

बिहे ताका, र त्यसपछिको दुई वर्ष सम्मपनि, मेरो सासु ससुरा कामको सिलसिलामा एडेनमा हुनु भएको कारणले, सुरु देखिनै मुवासँग नै बढि समय बित्यो मेरो । स्कूल सकिनासाथको अनुभवविहीन केटीलाई हाम्रो सानो परिवारमा भिजाउने, काम गर्ने तौरतरिका, व्यवहारिक रहनसहन सिकाउने नै मुवा हुनुहुन्थ्यो ।

बिहे भन्दा अघि मेरो माइततिर मुवाको छवी यस्तो थियो: खास्टो पहिरेको, तेल हालेको कपाल पछाडि सानो जुरो पारेको, मुसुक्कमात्र ओठमा हाँसो आउने, र ती बाट मसीनो, नम्र बोली फाट्ट फुट्टमात्र झर्ने । मुवाको यो ‘नम्र’ आनीबानी बारे मेरा फुपूहरूले चर्चा गरेको सम्झन्छु । सँगै बस्दा भने मुवाको बेग्लै रूपसित परिचित भएँ म । पहिला त पहिरन नै फरक । ‘फरिया’ लगाउन झन्झट मान्ने मुवाको घर बस्दा बुट्टे पेटिकोट, डम्बरकुमारीको खास्टो र बाकटे ब्लाउज (जाडो याममापनि) रहेछ । अनि मुवा त एकदम हकी, कुरा नचपाइ बोल्न सक्ने, लटरपटर मन नपर्ने हुनुहुँदो रहेछ! सबै कुरामा सिपालु भएकोले होला मुवाको आवाजमै तेज हुन्थ्यो, बुलन्द, आत्मविश्‍वास झल्कने । हिँडाई, गराई पनि त्यस्तै!

हाम्रो बिहेको दिन घर अगाडि भानिज, छोरा र बुहारीका बीच मुवा

श्री ५ र ३ का दरबारमा हिमचिम भएका बडागुरुज्यूकी छोरी मुवाको तौरतरिकामा पनि दरबारिया पारा झल्किन्थ्यो । कतै भोजमा जानेछ भने, कस्तो लूगा, गहना लगाउने, कस्तो अत्तर छर्कने? अझ, भोजमा जानु अघि, टन्न घरमै खाएर जाने, ताकि भोजमा एकदम भलाद्मी पाराले टिपनटपनमात्र चाखे पुग्ने!

हाम्रो घर सम्हाल्ने लक्ष्मीदिदी मेरो बिहे गरेको दुइ महिनामै बितेपछि, मुवा र म अक्सर भान्छामा काम गर्न सँगै पर्थ्यौँ । त्यति बेला हो मलाई “बा!” भन्दै तरकारी काट्ने तरिका सिकाउनु भएको मुवाले । माइतमा आमाले चुलेसीले हरियो फर्सी मसीनो पारेर काटेको देखेकी, मैले पहिलो चोटी त्यस्तै गरि छुरीले फर्सीलाई धुजाधुजा पारेको देखेर मुवाले, “हामीकाँ त त्यसरी काट्दैनन्, बा!” भनेर ‘सग्लो’ टुक्रा पार्न सिकाउनु भयो । कस्तो तिउन तरकारीलाई कस्तो किसिमले आलू काट्ने – चक्का, लाम्चो कि टुक्रा – पनि मुवाले “त्यसरी हैन बा, यसरी!” भन्दै सिकाउनु भएको हो ।

मुवाको शब्दावलीमै वहाँको बानी झल्किन्थ्यो - सरक्क, चट्ट, स्याट्ट, सर्लक्क, सटक्क ! दही झिक्दा छेउबाट ‘सरक्क’ काटेर मात्र झिक्नुपर्छ, लतरपतर पारेर हैन! बिछौनामा तन्ना ‘तनक्क’ पारेर कस्नु पर्छ, ‘ह्वार्ल्याङ्ग’ पार्ने हैन! तितौरा ‘सर्लक्क’ एक नासको पार्नु पर्छ, ‘चट्ट’ लाइनका-लाइन मिलाएर! गाजल बनाउन ‘चट्ट’ दियो माथि बत्ति बाल्ने ‘टक्क’ छोपेर!
माइतमा धेरै बच्चा स्याहारेको अनुभव भएको मुवाले आफ्नो पहिलो पनाति,
उज्ज्वल, लाई नुहाइदिँदै ।
उज्ज्वल ३ महिनको हुँदा हामी तीन हवाई गएका हौँ ।
हनलुलूमा गाह्रै गरेर भएतापनि, मुवासित मैले धेरै पकाउन सिकेँ

म १७ वर्षकी अल्लारेलाई मुवासित मिलेर काम गर्न सुरुसुरुमा गाह्रै भएको थियो । यो हामी हवाईमा जाँदा नमज्जासित उम्लियोपनि ! पढ्न गएका श्रीमानको पछि लाग्दै १८ वर्षकी म, ३-महिने छोरो र मुवापनि हनलुलू पुगेका थियौँ ।मेरो बच्चा हेर्ने क्षमता डा० बेन्जमिन स्पकको किताबमा सीमित थियो भने मुवाको आफ्नो माइतका कयौँ बच्चा हुर्काएको अनुभव थियो । तर म आफूलाई नै मुवा भन्दा जान्ने जस्तो लाग्थ्यो !

खाना पकाउन किताब हेर्दै पकाउन तम्सिन्थेँ म, खाना पकाउने पारखी मुवा भने छेउछाउतिरै बसेर म के गर्छु भनेर हेर्नु हुन्थ्यो । किताबमा लेखे अनुसार चम्चामा नून नापेर हाल्न लाग्दा, मुवाले “त्यो त बढि हुन्छ जस्तो लाग्छ है मलाई” भनेपछि, मलाई झोकले झन थप्न मन लाग्ने! नभन्दै खानामा नून चर्को नै हुन्थ्यो, अनि मैले लाजको पोको घुटुक्क निल्नु पर्थ्यो!
देखाउने गरि माया खासै नदर्शाउने मुवाले पनातिलाई हनलुलूमा म्वाई खाँदै ।

हवाईका दिन

फेरि छोराकै स्याहारको कुरा । बाबुलाई डा० स्पकको किताबमा लेखे अनुसार खुवाउने बेलामा मुवाले “ल है, अब पुग्यो जस्तो छ, फेरि वाक्ला!” भन्दा भन्दै मलाई छोरालाई अझै कोचाउन मन लाग्ने । नभन्दै वाक्थ्यो । मुवा “म त भन्दै थिएँ!” भनेर आफ्नो कोठामा जानु हुन्थ्यो । मलाई उकुसमुकुस हुने ।
छोरालाई खुवाउँदै म । छेउमा भएको त्यै स्ट्रोलरमा हो मैले पछि कुनै बेला
उसलाई राखेर पार्कतिर हुत्तिएको!

धेरै पल्ट त्यस्तै भएपछि, श्रीमान कलेजमा गएको बेला एक चोटी मुवाले त्यसै गरि, “भन्दै थिएँ!” भनेर फन्किएपछि, मलाई झोक चलेर छोरालाई स्ट्रोलरमा हालेर अपार्टमेन्टबाट निस्किएँ । नजिकको पार्कमा रीस मार्न गएँ । दुई घन्टा सम्म बसेँ । रीस सेलाउँदै गएर ग्लानीमा परिणत भयो । बिरानो ठाउँमा एक्लै मुवा कत्तिको आत्तिनु भयो होला भन्ने लाग्यो । मेरी आमालाई सम्झिएँ । अनि लुरुक्क घर फर्किएर मुवालाई गोडामा ढोगेर आफूले साह्रै गल्ती गरेकोमा माफी मागेँ । त्यो घटना पछि मुवा र मेरो एकदम समझदारी बढ्यो, हामीले एक अर्काको सीमा जान्यौँ र त्यसलाई कदर गर्न सिक्यौँ! र समयसँगै हामीबीचको माया र आदर बढ्दै मात्र गयो ।

१५ वर्ष अघि खिचेको तस्बिरमा मुवा र म

पढाईमा जोड
राणाकालिन युगमा भारतको शिक्षा प्रणाली अन्तर्गत म्याट्रिक्युलेशन सम्मको पढाई माइत मै बसेर सकाउनु भएको हो मुवाले । तर परिक्षा दिन भारत जान राणा शासकहरूले नदिएपछि, मुवाको अझ पढ्ने इच्छा तुहिएको रैछ । त्यै हुटहुटीले मुवाले छोरी सरह गरि बुहारीलाई पढाउन बल गर्नु भयो, आफन्तहरूको बिरोध बिपरित । आफ्ना नातिनातिनीहरूलाई आफूले स्याहार्दै, मिहेनत गरि पढाउँदै, छोराबुहारीलाई देश बाहिर पढन् जान प्रोत्साहन गर्नु भयो । अनि त सासू अंगूरबाबा जोशीले पनि देशमा त्यत्रो योगदान पुर्‍याउन सक्नु भयो, विशेष गरि नारी शिक्षाको फाँटमा ।
मुवाले म्याट्रिकको पढ्दा खेरिको अंग्रेजीको किताब र कापी


छोरा बुहारीलाई उच्च शिक्षाका लागि बिदेश पठाउन मुवाले नाति नातिनीहरूको जिम्मा लिएर
बस्नु भयो । तस्बिरमा पछाडि नाति किरण, अनि दायाँ र बायाँमानातिनीहरू प्रभा र ज्योती ।
मैले पनि पढ्न पाएको मुवाले नै गर्दा हो – चाहे दिनभरि कीर्तिपुरमा जाँदा होस्, या अमेरिकामा दुई वर्ष पढ्न जाँदा होस्, मुवाले पनाति पनातिनीहरूलाई पूरा रेखदेख गर्नु हुन्थ्यो । “तिमी फुच्चा फुच्चीहरूको पीर नगर्नु । म छँदै छु नी ! म बाँचे सम्म सक्दो हेरबिचार गर्छु!” भन्नु हुन्थ्यो । म जहिले मुवालाई भन्थेँ, “मलाई बच्चाहरूलाई सम्झेर न्यास्रो लाग्ला, मुवा, तर हजुरसित भएकाले उनीहरूको पीर भने पटक्कै लिँदिन!”

पढाईलाई असाध्यै महत्व दिने मुवाले, परिवारका सब बच्चाबच्चीहरूलाई “पढ्, पढ्नै पर्छ, त्यै हो असली धन! छोरीहरूले त झन पढ्नु पर्छ, नत्र त अरूको दास बन्नु पर्छ” भन्नु हुन्थ्यो । पढाईलाई सुन फलाउने शिक्षा भन्नु हुन्थ्यो मुवाले - “सुन रोपे सुन फल्छ, मेरो घरमा त कोही अशिक्षित छैनन्, कुकुरहरूपनि ज्ञानी छन्!”

फेरि बिदेशमा पढ्न गएका सन्तानलाई मुवाको उर्दी नै हुन्थ्यो “ल है ‘ए’ र ‘बी’ भन्दा तल ल्याउन पाइन्न!”

पनातिनी प्रियासित नेटमा पढाईकै बारेमा सोधपुछ गर्दै मुवा ।
"ए" र "ब" भन्दा तल ल्याउन पाइन्न!"

म्याट्रिकसम्मको पढाइले गर्दा मुवाको अंग्रेजीमा निकै दखल थियो । बाहिर बस्दा फोनमा होस् या अरूबेला बेदेशीसित अंग्रेजीमा बात मार्न सक्नु हुन्थ्यो । हामीसित कुराकानी गर्दा छिटपुट अंग्रेजी शब्दपनि छर्कनु हुन्थ्यो । “एक चोटी के भनेकीथिएँ, अनि त रिपिटका रिपिट!” “लिटिल नलेज ड्यान्जरस थिङ्ग!” “उसले राम्रोसित पढेकाले ‘फस्टका फस्ट’ भएर पास भयो, कहिले फ्यल भएन!”, “बुझिस् किरण, मन्त्रिमण्डल त फेरि ‘चेञ्ज-फेञ्ज’ भयो नी!”

दश वर्ष अघि सम्म पनि मुवाको बिहान र बेलुका टेलिभिजनमा समाचार हेरेरै बित्थ्यो - सिएनएन, बिबिसी । बिहान नाति उठेको थाहा पाएपछ, मुवा तल ओर्लिएर, “बुझिस किरण त्यो बुशले त यसो यसो गर्यो!” भनि अंग्रेजी च्यानलका हेडलाइन सुनाउनु हुन्थ्यो । ओबामाको बहाली हुँदा मुवा राति अबेरसम्म बसेर हेर्नु भएको थियो! हामीलाई लाग्थ्यो, शतक पुगेका कति नेपाली महिलाले ती च्यानल चाख लिएर नियमित हेर्थे होलान् ?

मुवालाई मेरो “भसार” बानीले अलि चिन्ता दिन्थ्यो । म काममा जाँदा दराज खुलैहुँदो रैछ, भण्डार कोठाको ढोका खुला राख्दिरैछु । म निक्लिएपछि, मुवा सबैतिर हेर्दै, बन्दाबन्दी गर्नु हुँदो रैछ । बेलुकी म फर्किएपछि मलाई, “आफ्नो थैलोको मुख बन्द गर्नु बा, अनि अरूलाई दोश दिनु पर्दैन । यहाँ त सब सामानले खुट्टो लगाउन बेर लाग्दैन!” भन्नु हुन्थ्यो ।


मुवा र छोरी

हानाना भन्ने बच्चको उनी लुगा बनाउने लघू उद्योग सञ्चालन गर्नु भएको मुवाले
फुर्सदमा ऊन डल्लो पार्न सघाउँदै ।
पन्ध्र वर्षमै बिधवा जीवनमा होमिनु भएको, र ८-महिनाको काखे बालक छोरा हुर्काउने अभिभाराले गर्दा मुवाको अरूमा धेरै भर नपर्ने बानी थियो । नातिनातिना पढाउन, उनीहरू फीज तिर्न स्वेटर बुन्ने धन्दा नै सुरु गर्नु भयो, र अरूसित हात थाप्न नपर्ने गरि आत्मनिर्भर बन्नु भयो । घरमा अलि समपन्नता छाएपनि आफ्नो काम आफै गर्न हामीलाई हरदम भन्नु हुन्थ्यो, “‘सेल्फ-हेल्प’ गर्नु पर्छ बा, अरूमा भर पर्न हुन्न!”

म बिहे गरेर आउँदा मुवाको छोराहरूप्रतिको लगाव बारे सुन्थेँ । नाति र नातिनीहरूमा अलि बिभेदका कुरा हुन्थे । मेरो पहिलो सन्तान छोरा भयो, घरमा सब दंग । दोस्रो सन्तानको बेला मलाई एकदम छोरीको रहर थियो, र भयो पनि । म दंग थिएँ । अस्पतालमा मेरो मुस्कानमय अनुहार देखेर मुवाले “छोरी पाएरपनि कति दंग परेकी” भन्नु भयो ! पछि मुवा सित हिमचिम हुँदै जाँदा, र कुरो बुझ्दै जाँदा त, त्यो छोरीलाई हेलाँले हैन कि, माया ले भन्नु भएको रहेछ त ।

दुइ बहिनी र भाईका साथ मुवा । यो मुवाको सधुवा हुँदाको दुर्लभ तस्बीर हो ।
(कलराइज गरिएको फोटो)

उ जमानामा आफुले, आफ्ना बैनीहरूले, र आफ्ना दौँतरीहरूले छोरी भएकै कारण दुःख सहनु परेकोले रहेछ, छोरी नपाएकै बेस भन्नु भएको मुवाले । “उ बेला छोरा र छोरीमा धेरै फरक थियो, खानामा समेत । अनि हामी छोरीहरूलाई ७\८ वर्षमै बिहे गरिदिन हतार भइहाल्ने । माग्यो, अनि दिइहाल्ने । कति सस्तो हेर बा छोरीहरू!” भन्नु हुन्थ्यो ।

तर जब अरु बृद्दहरू उमेर बढ्दै जाँदा आफ्नो सोचाईमा कट्टर हुँदै जान्छन, मुवाको चाहीँ, विशेषगरि छोरीहरूका बारेमा सोच झन-झन उदार हुँदै गयो । यति सम्म कि कोही गर्भबतिलाई आशीर्वाद दिँदा, “छोरी पाएस्, बा! सुखदिने छोरी नै हुँदारैछन!” भन्न थाल्नु भयो ।


सीपालु मुवा

मुवाको हातमा भएको सीप मध्ये, मीठो पकाउनेपनि एक थियो ।
काउलीआलू तरकारी, काउली पुलाउ, केराउ, रहरको दाल,
जुनार र मसलाको अचार मुवाको 'स्पेशियालिटी' नै थिए ।
मुवा सर्वगुण सम्पन्न हुनहुन्थ्यो । छोरा बुहारीले बेलायतबाट फर्कँदा ल्याइदिएको सिंगरको बिजुलीवाला सिउने कलमा घरमा चाहिने चीज – बच्चाका लूगा, आफ्नो ब्लाउज, पेटिकोट, सीरक, तकिया, चकलाका खोल, पर्दा इ० ‍- सब आफै सिउनु हुन्थ्यो र भन्नु हुन्थ्यो, “सब आफै सिउँथेँ बा, बाहिर दिन्नथेँ । आफूले जानेपछि किन्नुपनि नपर्ने, खर्च नलाग्ने!.

बुन्ने त छँदै थियो, लडेर औँला चलाउन अलि गाह्रो भएपछि मात्र आफैले बुन्ने कम भयो । पकाउन त्यत्तिकै सीपालु मुवा । बम्बैमा क्लास नै लिएर पकाउन सिक्नु भएको मुवालाई खाना बनाउन र खुवाउन एकदम सोख थियो । वहाँले पकाउनु हुने रहरको दाल र केराउको तरकारी खान त मेरो बुवा (दादा) पनि निकै पल्किनु भएको थियो !

मुवा आफू शाकाहारी हुनुभएपनि, म अमेरिकामा सुत्केरी हुँदा नातिलाई मासु काट्न लगाएर आफै पकाएर खुवाउनु हुन्थ्यो मलाई । “दुल्हा बित्नु अघि त खाएकी हो नि मासु । मैले स्वाद त बिर्सेकि छैन नी, के के हाल्दा मीठो हुन्छ थाहा छ!” भन्नु हुन्थ्यो।

आँप काटेर बच्चाहरूलाई खुवाउन तयार गर्दै मुवा ।


आफ्नो परिवारलाई फलफुल खुवाउन जोड गर्नु हुन्थ्यो मुवा । दिउँसो भएपछि अटूट रूपमा ‘चट्ट-चट्ट’ फलफुल काटेर हामी सबैलाई भाग लगाउनु हुन्थ्यो । राम्रा टुक्रा हामीलाई छुट्टाएर आफू चाहीँ बीचको बियाँ भएको भाग वा खोया “यै मीठो लाग्छ बा!” भन्दै चुस्नु हुन्थ्यो ! आफूले काट्न नसक्ने भएपछि मात्र हो मुवालाई हामीले मज्जाले फलफूल खुवाउन सकेको ।

आफूले खान लाग्दा पनि, बच्चाबच्ची वरिपरी छन् भने, आफ्नो भागैबाट खुवाउन थाल्नु हुन्थ्यो । आफूलाई मीठो लाग्ने कुरो, अरुले पनि खाउन् भन्ने लाग्थ्यो मुवालाई । मुवाको धाई ज्यापू समुदायको भएकाले मुवालाई नेवा: खाना एकदम मन पर्थ्यो ।

आफ्नो भागको चटामरी पनातिनी कृपालाई खुवाउँदै मुवा ।

चनाखो मुवा

साह्रै चनाखो हुनुहुन्थ्यो मुवा । मुहार अगाडितिर फर्किएपनि, छड्के आँखाले कता के भएको छ सब थाहा पाउनु हुन्थ्यो! सहयोगीहरूले के गर्लान् भनेर सँधै सतर्क त्यै नजर यता उति घुमाएर थाहा पाउनु हुन्थ्यो । यहाँ होस् कि बिदेशमा, छरछिमेकको नालीबेली थाहा पाउनुहुन्थ्यो मुवा । हनलुलूमा हामी बसेको १२औँ तलाको बरण्डाबाट तलका १-तले घरहरूमा बस्नेको आनीबानी सब थाहा पाउनु हुन्थ्यो । “उ त्यो घरको बुढालाई छोराबुहारीले साह्रै हेलाँ गर्छन्! बिचरा!” “त्यताकी बुढीले कति लूगा फेर्छे ! ओहो कस्तो ढाँचा पार्छे!” भन्नु हुन्थ्यो । (सय वर्ष पुग्दापनि मुवा अरुलाई ‘बुढा’ र ‘बुढी’ भन्नु हुन्थ्यो!)

घरको पूजाकोठामा प्रार्थना गर्दा गर्दै तल भान्छामा केही खसेर फुटेको आवाज मुवाको तीखो कानले सुनिसकेको हुन्थ्यो । “ल गयो! नास भयो! त्यत्रो पैसा हालेर तिमीले कताकताबाट दु:ख गरेर ल्याएकी, कत्ति पैसा परेको थियो, देख्यौ? नास! पैसा रूखमा फल्छ र? कति दु:ख गरेर कमाइन्छ!”

फूले दु:ख गरेर सन्तान पालेर बढाएको कुरोले गर्दा मुवाको सञ्चित गर्ने, खेरा नफाल्ने, जगेर्ना गर्ने बानी कहिले पनि छुटेन । आफूले सकुञ्जेल, सकेसम्म तरकारी आफै केलाउन अघि सर्नु हुन्थ्यो ।
कौसीमा घाम ताप्दै तरकारी काटकुट गर्न सघाउँदै मुवा ।


“सामानको हिफाजत गर्नु पर्छ, बुझयौ?” भन्नु हुन्थ्यो । जगेर्ना कै हिसाबले, पछि नपाइएला भन्दै सामान थुपार्नु हुन्थ्यो – टिन, बोतल, डोरी, खाम, कागज, झोलाहरू । गञ्जीको आयु पुगेपछि त्यसलाई ईँजारको डल्लोमा परिणत गर्नु हुन्थ्यो, अनि सिरकको खोल बनाउनुहुन्थ्यो नाक पुछ्ने टाला ! सामान बिरलै खेर जाने ।

छोराको कमाई परेको गलैँचा ‘नास पार्छन्’ भनेर आफ्नो डसना मुनी राख्‍नुहुन्थ्यो, प्लास्टिकहरू आफु बस्ने कुर्सी मुनी घुसार्नु हुन्थ्यो! पैसा परेको चीज, नासिन दिनु हुँदैन भन्ने मान्यता थियो । फेरि उति बेला, अहिलेको जस्तो सामान त्यति पाइँदैनपनि थियो नेपालमा । सन् ‘७०को दशकतिर, नेपालमा प्लास्टिकको चलन नभइसकेको बेलामा, हामीले हवाईबाट नेपाल फर्कँदा मुवाले जम्मा पार्नु भएको पाउरोटी पोको पारेका प्लास्टिकका थैला, स-साना प्लास्टिकका चम्चा, थुप्रो ल्याएका थियौँ । यहाँ निकै काम दिएका थिए ती बस्तुले!

मुवालाई कुकुर मन पर्ने भएकाले मुवाको बुवाले वहाँलाई ल्हासादेखि कुकुर
मगाइदिनु हुने रहेछ। अहिले भने हामीले सडकमा भेटिने कुकुर नै पाल्न थाल्यौँ।
३ वर्ष अघि खोलामा फालिएकी ताराले पनि मुवाको काखको शरण पाई ।
आफूले खेलेका, नातिनी र पनातिनीहरूले खेलेका (वा अलि महगा भएका कारण जोगाउनु पर्छ भनेर खेल्न नदिइएका) पुतलीहरू, खेलौनाहरू मुवाको कोठामा ऐनावाला दराज भित्र बन्द हुन्थे, अझै छन् । बच्चाहरूले ऐनाभित्र यस्ता धेरै पुतलीहरू हेर्नमात्र, खेल्न नपाउने हुन्थ्यो!

मुवालाई कुकुर एकदम मन पर्ने सानैदेखि । कुकुरहरूपनि मुवाको कोठामा बस्न पाए दंग पर्ने । सानोमा पालेका कुकुरहरू संझँदा मुवाको आँखा रसाउँथ्यो । “बुझ्यौ टमथम्ब भन्ने मेरो कुकुर त सानो थियो, हतकेलामा मै अट्थ्यो, । कोटको पकेटमा राखेर यता उति जान्थेँ, ईण्डीया पनि!” भन्नु हुन्थ्यो ।

बाहिर जाने बेलामा ‘फरिया’ लगाउने बाहेक, मुवाको रोजैको पहिरन बाकटे चोलो, बुट्टे पेटिकोट र खास्टो हुन्थ्यो । सारी फेर्न लागेको कुरो मुवाको कोठामा बसेको कुकुरहरूले देखेपछि, पीर मानी हाल्ने, बिशेष गरि म्याउ । नजिकै आएर टुलुटुलु हेरेको देखेर मुवा हाँस्दै भन्नु हुन्थ्यो, “ल हेर त बा, यस्तोपनि हुन्छ त? म बाहिर जान लाग्यो भनेर हत्ते देखाएकी! मोरी!”


उमेर बढ्दै जाँदा

मुवाको आयु शतक पुग्दा सम्म हट्टाकट्टा नै हुनुहुन्थ्यो, स्वास्थ्यमा केही समस्या थिएन । वहाँको डाक्टर नै छक्क पर्नु हुन्थ्यो र भन्नु हुन्थ्यो, “हजुरको मुटु त १६ वर्षे केटीको जस्तै छ!” सम्धि पर्ने डाक्टर सुन्दरमणिले फिज नलिने हुँदा, मुवाले आफैले पकाएको मसलाको स्पेशल अचार पठाउनु हुन्थ्यो वहाँलाई ! आफ्नो जब्बर आँतको कुरा गर्दै (र बुहारीको कम्जोर शरिरलाई इंगित गर्दै) “म त बलियो पो छु, पानीआन्द्रे हैन, अरु जस्तो!” भन्नु हुन्थ्यो ।

मुवा १०० वर्ष पुग्दाको पाँच पुस्ता सहित खिचेको तस्बिर

त्यति बेलासम्मपनि आफै फोन घुमाएर सब आफन्तसित सम्पर्कमा बस्नु हुन्थ्यो । छरछिमेकमा के भइराखेको छ भनेर चासो लिने, हिँडडुल गर्ने, मन लागेको कुरा पकाउन तम्सिने, सब गर्नु हुन्थ्यो ।

बिस्मृतिले च्याप्दै जाँदा

मुवाको स्मरण शक्ति एकदमै तगडा थियो ४-५ वर्ष सम्म अघि । हामीलाई आफ्नो माइत ढोकाटोलको बखान; राणाकालिन युगको बयान; ९० सालको भुकम्पको त्रासादी, अनि आफू घुमेका मुलुक, बिशेषत: नाइजिरिया को बारेमा खूब गफ सुनाउनु हुन्थ्यो ।
सन् १९८३ मा न्यु योर्कको एम्पायर स्टेट बिल्डिङ माथि

मसिना-मसिना कुराहरू सब सम्झने, आँखै अगाडि भएको जस्तो गरि वर्णन गर्ने । मैले धेरै अघि देखि मुवाको संस्मरण टिपोट गर्न खोजेतापनि तार्तम्य नै मिलेको थिएन । जब कामबाट अवकासी फुर्सद भयो, मुवालाई बिस्मृतिले छोइसकेको थियो ।

मुवाको सम्झना ताजा राख्‍न मैले एउटा “मुवालाई सम्झनाका पानाहरू” भनेर फोटो-किताब बनाइदिएकी थिएँ, मुवाको निकटतम परिवार र आफन्तजनका ठुल्ठुला तस्बिरहरूको सँगालो समेटिएको । तर ताजा कुरा त्यति याद नहुने बेला भईसकेकाले मुवाले त्यो किताबमा आफ्नो बुढीआमा, बाबुआमा, भाईबैनीहरू, आफ्नो र आफ्नो ‘दुल्हा’को फोटो बाहेक अरूलाई चिन्न गाह्रो परिसकेको थियो । मुवाको त्यही पुराना सम्झनामा केन्द्रित भई, र वहाँलाई कस्ट नहुनेगरिकन किरण र मैले गरेका कुराकानीमा आधारित, मुवाकै भाखामा, १८ विषयमा लेख चाँही हिमाल खबरपत्रिकामा प्रकाशित गर्यौँ ।

सम्झनाको पाना पल्टाउँदा मुवा आफ्नो आमाको तस्बिर हेर्न नै बढि मन पराउनु हुन्थ्यो ।

कोभिडको बेला आउजाउ बन्द हुनु, पहिला बुहारी, अनि मुवाको अत्यन्त निकट मायालु बैनि ‘बिन्दा’को निधनपछि सम्झना शक्ति सितै मुवाको स्वास्थ्यपनि ओरालो लाग्न थाल्यो । त्यसपछि मुवालाई अरूमा भर पर्ने बाध्यता आउन थाल्यो । ‘सेल्फ हेल्प’ मा गहिरो विश्‍वास गर्ने मुवालाई हेरालुहरूको शरणमा पर्न पर्दा “म त अब क्यै गर्न नसक्ने भएँ” भन्ने कुराले निकै मानसिक पीडा दिन्थ्यो । आफू भन्दा साना आफन्तहरू बित्दै जाँदा एक्लोपनले गाँज्न थाल्यो । मुवाको अस्ताउँदै गएको जीवन “किन म मात्र बाँचेको?” भन्ने बैराग्य र “म त मर्छु कि क्या हो?” भन्ने अत्यास बीच रुमल्लिन थाल्यो ।

केही बोल्न नसक्दापनि नाति नजिक पाउँदा, हात सुमसुमाउँदा, मुवाले धेरै राहत महसूस गरेझैँ लाग्थ्यो हामीलाई ।


‘बाबु’

'बाबु'लाई च्याप्दा मुवालाई धेरै आनन्द महसूस भएको हामीले पाएका थियौँ ।
बच्चा साह्रै मन पराउने मुवालाई जीवनको अन्तिम १-२ वर्ष “बाबु”ले निकै आनन्दको अनुभूति दिलायो । ‘बाबु’ बच्चा जत्रै पुतली हो । मेरो आमा (देबिजी) लाई बिस्मृतिले च्याप्दा बाबु स्नेह र स्याहार पोख्ने पात्र बनेको थियो । देबिजीले जस्तै मुवालेपनी साँच्चिकै बच्चासरि बाबुसित “कठै बाबा!” भन्दै कुरा गर्न खोज्ने, मायाले च्याप्प अँगालो मार्ने, म्वाई खाने, जिउ मुसार्ने, अनि जाडोमा खास्टोले गमलग्ङ पारेर आफूसितै टाँस्नु हुन्थ्यो । ‘बाबु’ दुबैका लागि बिस्मृतिको साहारा बन्न पुगेको थियो ।

बिस्तारै बिस्तारै मुवाका सबै इन्द्रियहरुले ठाँउ छाड्दै गए । बोली झण्डै सबै गुमेतापनि, हामीहरूलाई नजिक पाउँदा मुवाले केही भन्न खोजेको जस्तो देखिन्थ्यो । तर बोली “ए बा!” “लौ न!” मा नै सीमित हुन्थ्यो । तैपनि, नातिले गएर “मा!” भन्दै हात च्याप्प समात्दा र ढाड सुमसुमाउँदा मुवालाई निकै आड पुगेको महसूस गर्थ्यौँ हामी ।

सास छाड्ने दुइ दिन अघि, त्यति होस नभएतापनि, मुवाले हात चलाएको देख्दा अलि अत्यास लागेको हो की जस्तो लागि, ‘बाबु’लाई मुवासँगै राखिदिएँ । पुतलीको टाउकोमाथि मुवाको हात थियो । मुवाले निकै बेर सम्म ‘बाबु’को टाउको बिस्तारै मुसार्नु भयो ! त्यस्तो अन्तिम अवस्थामा पनि अचम्मैसित मातृत्वको भाव छचल्किँदो रहेछ !
बित्नु दुई दिन अघिपनि 'बाबु'को
टाउको मुसार्दै मुवा ।



अन्त्यमा

शनिबार माघ १४ गते २०७९, अचला सप्तमीको दिन मुवा १०७ वर्षमा टेक्नु भएको थियो । हामीले मुवालाई व्हीलचेरमै राखि पूजा गरेका थियौँ । त्यसको ठीक तेस्रो शनिबार, फागुन ६ गते, शिवरात्रिको बिहान ३ बजे मुवाको जीर्ण शरीरमा कैद भएको फुर्तिलो आत्माले मुक्ति पायो ।

मुवाको हिँड्डुल घर्ने क्षमता खस्किँदै जाँदा हामीले मुवालाई तेस्रो तलाबाट बारी बगैँचा नजिक हुन पहिलो तलामा सर्ने कि भनेर सुझाउँदा, “हैन बा, म मेरो छोरो बल्लाम (बलराम) ले मलाई बनाइदिएको यो कोठाबाट कतै जान्न” भन्नु हुन्थ्यो । आखिरमा मुवाले त्यही बल्लामले बनाएको कोठामा हामीहरू माझ प्राण त्याग्नु भयो ।

कोठा अब रित्तो भयो, रह्यो सम्झनामात्र एक अचम्मको महिलाको, मुवाको!

मुवाको जन्मदिनमा हामीले अरु पूजा गर्नुका साथै मुवाको पनि पूजा गरेका थियौँ ।
त्यसको ठीक ३ हप्तामा मुवा हामीमाझबाट बिदा हुनु भयो ।
मुवाको १०७ वर्षको आयुमा ९२ वर्ष त विधवा नै भएर बितेको थियो।

मुवाको १३ दिनको कृया सम्म 'बाबु'लाई मुवाको फोटोसितै राखेका थियौँ हामीले